१७ मंसिर, काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले पुस ७ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
बैंकले १०० रुपैयाँ अंकित दरका रू. १३ करोड १२ लाख ३३ हजार ८०० बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद जारी गर्ने भएको हो ।
हकप्रद निष्कासनका लागि बैंकले मंसिर २४ गते बुकक्लोज गर्नेछ । बुक क्लोजको आधारमा मंसिर २३ गतेसम्मका कायम यस बैंकका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । उक्त हकप्रदमा पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ ।
बैंकको हकप्रद शेयरको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा ग्लोबल आइएमई क्यापिटल तथा नारायणी डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन पाउनेछन् ।
इक्रा नेपालले बैंकलाई इक्राएनपी आईआर सिंगल सी प्लस रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्न ज्यादै उच्च जोखिममा रहेको संकेत गर्दछ । कम्पनीको चुक्तापूँजी हाल रू. १३ करोड १२ लाख ३३ हजार ८०० रहेको छ ।
हकप्रद निष्कासन पछि उक्त पूँजी रू. २६ करोड २४ लाख ६७ हजार ६०० पुग्नेछ ।