२ पुस, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले गैरसरकारी संस्थाहरूलाई आवश्यक सुरक्षाको व्यवस्था तत्काल मिलाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।
गैरसरकारी संस्था महासंघ नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले देश विकासको अभियानमा संलग्न गैरसरकारी संस्थाहरूलाई आवश्यक सुरक्षाको प्रबन्ध गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।
उनले सरकारले राज्यका कुनै पनि निकायमा हस्तक्षेपकारी भूमिका खेल्न नचाहेको पनि स्पष्ट पारे । गैरसरकारी संस्थाका सन्दर्भ वा उद्योग, व्यवसायसँग सम्बन्धित कुनै पनि संस्थाहरुमा सरकारले नियन्त्रणकारी, हस्तक्षेपकारी भूमिका खेल्न नचाहेको गृहमन्त्री खाँणको भनाइ थियो ।
गृहमन्त्री खाँणले गैरसरकारी संस्थाहरूले कोरोना संकट, बाढी, पहिरोलगायतका प्राकृतिक विपदमा पनि उल्लेखनीय काम गरेको भन्दै प्रशंशा गरे । गृहमन्त्री खाँणले जनताको व्यापक सहभागितमा मुलुकको विकास र समृद्धि हुने भएकाले सरकारले सोहीअनुसार सहजीकरणको कामलाई अघि बढाउने बताए ।