३ पुस, काठमाडौं । कोरोनाभाइरसबाट भारतमा पछिल्लो एक दिनमा सात हजार १४५ जना नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार सोही अवधिमा कोरोनाका कारण अरू २८९ जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या ८४ लाख ५६५ रहेको पुगेको पनि जनाएको छ ।
यो सङ्ख्या पछिल्लो ५६९ दिनपछिकै सवैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । प्रतिशतको हिसाबले पनि सक्रिय सङ्क्रमितहरूको सङ्ख्या गत मार्चपछिकै सबैभन्दा कम भएको उनीहरूको भनाइ छ । उनीहरूका अनुसार भारतमा कूल सङ्क्रमितमध्ये ०.२४ प्रतिशत सङ्क्रमितहरू अहिले पनि सङ्क्रमित अवस्थामै रहेका हुन ।
पछिल्लो २४ घण्टामा भारतमा आठ हजार ७०६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरूको कूल सङ्ख्या तीन करोड ४१ लाख ७१ हजार ४७१ पुगेको छ ।