५ पुस, काठमाडौं । चीनबाट कोभिड–१९ विरुद्धको १२ लाख डोज खोप बोकेर आएको चिनियाँ जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण नगरी फर्किएको छ । चीनको छेन्दुबाट भेरोसेल खोप लिएर आएको सीचुवान एयरलायन्सको जहाज आज बिहान ८ः ३५ बजे विमानस्थलबाट फर्किएको हो ।
त्रिभुवन अन्तररतष्ट्रिय विमानस्थलका महाप्रवन्धक भोलाप्रसाद गुरागाइँका अनुसार खराब मौसमका कारण जहाज ल्याण्ड हुन नसकेका कारण छेन्दु नै फर्किएको हो । सो विमान अब खोप लिएर कहिले आउँछ भन्ने टुंगो नभएको र त्यसपछिका सबै उडान नियमित रहेको पनि गुरागाइँले जानकारी दिए ।
नेपालमा आज चीनबाट १२ लाख १ हजार ८८७ डोज भेरोसेल र भारतबाट १८ लाख ७१ हजार ५०० डोज कोभिशिल्ड खोप आउँदै थियो । चीनबाट आज आएको खोप फिर्ता गए पनि भारतबाट भने आज दिउँसो २ः३५ बजे कतार एयरको नियमित उडानमार्फत् कोभिशिल्ड खोप आउने स्वास्थ्य सेवा विभागका खोप भण्डारण शाखा प्रमुख बडेबाबु थापाले बताए ।
सरकारले कोभिसिल्ड खोप कोभ्याक्स सुविधाअन्तर्गत र भेरोसेल खोप एसियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा खरिद गरी ल्याउन लागेको हो ।