५ पुस, बैतडी । मङ्गलबारदेखि बैतडीमा १२ वर्षदेखि माथिका करिब ३९ हजार बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप दिइने भएको छ । सरकारले देशका विभिन्न जिल्लामा बालबालिकाका लागि खोप अभियान सञ्चालन गर्ने निर्देशन गरेसँगै बैतडीमा पनि सञ्चालनको तयारी भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिप्रसाद भट्टले जानकारी दिए ।
यहाँ पनि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आगामी पुस ६ गतेदेखि मोर्डना खोप दिइने भएको हो । बैतडीमा उक्त उमेर समूहका ३८ हजार ८१२ बालबालिका रहेका र उनीहरुलाई विद्यालयमै खोप केन्द्र स्थापना गरेर खोप अभियान सञ्चालन गरिने भएको हो ।
जिल्लाभरी २५९ खोपकेन्द्र स्थापना गरेर अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेसप्रसाद भट्टले जानकारी दिए । पुस ६ गते सुरु हुने उक्त अभियान पुस ११ गते सम्पन्न हुने जनाइएको छ ।
मोडर्ना खोपको पहिलो मात्रा लगाएपछि २८ दिनभित्र दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ । अहिलेसम्म बैतडीमा ७५ हजार बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् ।