६ पुस, काठमाडौं । काठमाडौंको आज विहानको तापक्रम ३.२ डिग्री सेल्सियस रहेको छ । विहान ६ बजे काठमाडौंमा ३.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो । हिजो विहान ६ बजे काठमाडौंमा ३.६ डिग्री सेल्सियस रहेको थियो ।
आज दिउँसो काठमाडौंको तापक्रम १५ देखि १७ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् शान्ती कँणेल बताउँछिन् । उनका अनुसार आज दिउँसो काठमाडौंमा आंशिक बदली हुनेछ । तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
यद्यपि, हिजोको तुलनामा केही कम छ । मध्याह्नसम्म उक्त हुस्सु र कुहिरो हट्ने मौसमविद् कँणेलको भनाइ छ । यो वर्ष २.६ डिग्री सेल्सियससम्म तापक्रम झरिसकेको छ । चिसो अझै बढ्ने उनी बताउँछिन् ।
बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो लाग्ने भएकाले हवाई तथा सडक यातायात प्रभावित हुन थालेको छ । आज उच्च पहाड र हिमाली क्षेत्रका केही भागमा हिमपातको सम्भावना रहेको छ ।