समाचार

महोत्तरीमा पाँच दिनदेखिको चिसो स्याँठका कारण जनजीवन प्रभावित

chiso

६ पुस, जलेश्वर । महोत्तरीको सदरमुकाम जलेश्वरसहित सम्पूर्ण मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती क्षेत्रमा विगत पाँच दिनदेखि चलेको चिसो स्याँठका कारण जाडो बढेको छ । जाडोले यहाँको सम्पूर्ण जनजीवन प्रभावित भएको छ ।

शीतलहर, हुस्सु र बाक्लो कुहिरोका साथै निरन्तर रूपमा चलेको चिसो स्याँठका कारण पुस १ गतेदेखि नै यहाँको वातावरण बिग्रेको हो । यहाँका मानिस, चौपाया, पशुपक्षीसहित बालीनाली समेत प्रभावित भएको छ ।

निरन्तरको बढ्दो जाडोले गर्दा विगत पाँच दिनमा जिल्लामा कुनै किसिमको मानवीय क्षति नभए पनि जिल्लाका गाउँबस्तीमा नराम्रो असर परेको हो । चिसो स्याँठका बीच यहाँका मानिसले कुनै पनि कामकाज गर्न पाएका छैनन् भने बालबालिका र वृद्धवृद्धा बिरामी हुनेक्रम बढेको छ ।

त्यस्तै, खेतबारीमा लगाइएको हिउँदे बाली दलहन र तरकारी पनि चिसोका कारण कुहिन थालेको जिल्लाका किसानले बताएका छन् । चिसोकै कारण अहिले जिल्ला सदरमुकाम जलेश्वरसहित जिल्लाको सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ भने जिल्लावासीले यातयातका साधन चढ्न कम गरेका छन् ।

यता, जिल्लाका विभिन्न बजारमा बाक्लो ऊनी कपडाको बिक्रीमा बढोत्तरी भएको छ भने चिसोकै कारण जिल्लाको हाटबजारमा मानिसको उपस्थिति न्यून भएको छ । स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा विभिन्न किसिमका बिरामीको संख्यामा वृद्धि भएको चिकित्सक बताउँछन् ।

१० नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीका गाउँबस्तीमा स्थानीयवासी जाडोबाट बच्नका लागि ठाउँठाउँमा गोबर, गुइँठा र खरपातको घुर बनाएर न्यानो प्राप्त गरिरहेका छन् भने केही टोलबस्तीमा खानपान र जीवनयापनको समस्या हुन थालेको छ ।

जिल्लाका गौशाला, बर्दिवास, मनरासिस्वा, भंगाहा, पिपरा, लोहारपट्टी र जलेश्वर नगरपालिका क्षेत्रभित्र रहेका गरिब, दलित बस्तीमा वृद्धवृद्धा कठ्यांग्रिएर बिरामी हुनेक्रम बढ्न थालेको छ भने ती बस्तीमा न्यानो लत्ताकपडा र खानपिनको पनि समस्या हुन थालेको बस्तीका बासिन्दाले बताएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस