
९ पुस, काठमाडौं । इजरायल कोभिड–१९ को चौथो डोज खोप लगाउने पहिलो मुलुक बन्ने भएको छ । नयाँ ओमिक्रोन भेरियेन्टको लहर फैलिएसँगै संक्रमण बढन नदिनलाई इजरायलमा चौथो डोज दिन लागिएको हो ।
यसमा इजरायलका महामारी विशेषज्ञहरुले नै स्वास्थ्यकर्मी र ६० वर्ष माथि उमेरकाहरुमा चौथो डोजको बुस्टर खोप लगाउन सुझाव दिएका थिए । प्रधानमन्त्री नेफ्तली बेनेटले पनि यस सुझावलाई स्वागत गर्दै आफ्ना अधिकारीहरुलाई तयारी गर्न निर्देशन दिइसकेका छन् ।
गत मंगलबार मात्र इजरायलले ओमिक्रोन भेरियेन्टबाट संक्रमित पहिलो बिरामीको मृत्यु भएको खबर गरेको थियो । स्वास्थ्य मन्त्रीका अनुसार इजरायलभरि यसका ३४० संक्रमित फेला परिसकेका छन् ।
तेस्रो डोज लिएको चार महिना पुगिसकेकाहरुलाई यो चौथो बुस्टर सुइ लगाउने अपेक्षा गरिएको प्रधानमन्त्री बेनेटले बताए । हाल यो निर्णय देशका वष्ठि स्वास्थ्य अधिकारीहरुबाट स्वीकृत हुने पर्खाइमा छ ।
यस सेवालाई सम्भव भएसम्म चाँडो उपयोग गर्न आग्रह गर्दै बेनेटले भनेका हुन् , “वास्तवमै यो धेरै खुसीको कुरा हो कि अहिले पूरै दुनियाँ गुज्रिरहेको ओमिक्रोन लहर विरुद्ध लड्न यसले हामीलाई धेरै ठूलो सहायता गर्नेछ । ”
कोभिड–१९ का खोपहरु पहिलोपटक लन्च हुँदादेखि नै इजरायलले सुइ लगाउने प्रक्रिया तिव्र रुपमा सुरु गरि खोप अभियानमा विश्वमै अगाडि रहेको थियो । तर यति गर्दा पनि त्यहाँ देशभरका ६३ प्रतिशत, ९३ लाखले मात्र दुई डोज खोप लगाएका छन् । इजरायलमा युवा वर्गको दर तुलनात्मक रुपमा उच्च भएकाले पनि यस्तो तथ्यांक आएको बताइन्छ ।
त्यहाँका एक तिहाइ भन्दा बढी जनसङ्ख्या १४ वर्ष कम उमेरका छन् । त्यसैले यसको समाधानमा सरकारले नोभेम्बरदेखि पाँच वर्ष माथिका बालबालिकालाई पनि खोप लगाइने घोषणा गरेको हो । सोमबार प्रधानमन्त्री बेनेटले देशका सबै योग्य बालबालिकाहरले आगामी दुई हप्ता भित्रै खोप लगाएर नयाँ लहरको संक्रमणबाट समुदायलाई जोगाउन मद्दत गर्न भनेका हुन् ।
त्यसैगरी इजरायलले भाइरस फैलन नदिन अमेरिका, जर्मनी र क्यानडा लगायत विभिन्न देशमाथि यात्रा प्रतिबन्ध लगाइसकेको छ । जोन होप्किन्स युनिभर्सिटीका अनुसार इजरायलमा कोभिडबाट १३ लाख ६० हजार बढी संक्रमित भएका थिए भने हालसम्म ८ हजार २०० को मृत्यु भइसकेको छ । बीबीसी