
एनएमबि न्युज डेक्स, काठमाण्डौ ।
२०८० भदौ ८ गते
सुनसरी जिल्लाको धरानले निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले आजबाट निषेधाज्ञा जारी गरेको हो ।
आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार निषेधाज्ञा जारी गर्दै सूचना जारी गरेकी हुन् ।
उनले धरान प्रवेश तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता बढाइएको बताए । ती स्थानबाट प्रदर्शनमा आउने धरान प्रवेश गर्न दिएको छैन ।
धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले शनिबार प्रदर्शनको आह्वान गरेका छन् । जसका कारण साम्प्रदायिक सदभावमा असर पर्न सक्ने भएकाले प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले निकालेको सूचनामा भने डेंगु संक्रमण बढिरहेको र जनस्वास्थ्य आपतकालीन् अवस्था क्षेत्र घोषणा गर्ने गरी सम्बन्धित निकायमा सिफारिस गरिएको स्थितिमा सभा सम्मेलन गर्न निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।