देश

डोल्पाको कुन्ख्येन फालक ताल तिलिचो भन्दा अग्लो स्थानमा रहेको दाबी

123

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
भाद्र–२० बुधबार ।

डोल्पाको डोल्पोबुद्ध गाउँपालिका ६ फालगाउँमा अवस्थित कुन्ख्येन फालकु ताल तिलिचोभन्दा बढी उचाइमा रहेको दाबी गरिएको छ।

ताल निरीक्षण गरेपछि गाउँपालिकाका जनप्रतिनिधिहरूले कुन्ख्येन फालक ताल सबैभन्दा अग्लो स्थानमा रहेको दाबी गरेका हुन्। उनीहरूले डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेललाई तालको नापजाँच गर्न आग्रह गरेका छन्। गत शनिबार गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरूङ र वडा ६ का वडाध्यक्ष नुर्बु डुम्डुल गुरूङसहित १७ जनाको टोली ताल निरीक्षण गर्न गएका थिए।

गाउँकै बुढापाकाबाट त्यहाँ ताल भएको थाहा पाएपछि जिपिएस ट्र्याकरसहित उपाध्यक्षको टोली पुगेको थियो। त्यहाँ पुग्न फालगाउँबाट २० मिनेट मोटरसाइकल र दुई घन्टा पैदल हिँड्नुपर्ने वडाध्यक्ष गुरूङले जानकारी दिए। जिपिएस ट्र्याकरबाट नाप्दा ताल ५ हजार १९० मिटर उचाइमा रहेको पाइएको गाउँपालिका उपाध्यक्ष पेमा धोर्चे गुरूङले बताए। त्यसपछि उनीहरूले उक्त ताल नेपालकै अग्लो स्थानमा रहेको दाबी गर्दै नापजाँचका लागि प्रशासनलाई भनेका हुन्।

taal1 1693986013

नेपालकै सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल समुद्री सतहबाट ४ हजार ९१९ मिटर माथि छ। कुन्ख्येन फालक तिलिचोभन्दा २७१ मिटर बढी अग्लो स्थानमा रहेको उपाध्यक्ष गुरूङले बताए।

आधिकारिक उचाइ पत्ता लगाउन प्रशासनलाई खबर गरिएको उनले बताए। डोल्पाका ‍प्रमुख जिल्ला अधिकारी पोखरेलले तालको बारेमा मौखिक जानकारी आएको र नापजाँच गर्नेबारे समन्वय भइरहेको जानकारी दिए। ताल रहेको वा नरहेको भन्नेबारे प्रष्ट हुन मंगलबार प्रहरी समेत पठाइएको प्रजिअ पोखरेलले बताए।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस