देश

देशभर २१ जनप्रतिनिधिको पद रिक्त, आगामी वैशाखमा उपनिर्वाचनको तयारी

Election Commission of Nepal Notice

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
भाद्र–२२ शुक्रबार ।

प्रदेश र स्थानीय तह गरी विभिन्न १८ जिल्लाका २१ जनप्रतिनिधिको पद रिक्त भएको छ । गत वर्ष वैशाख ३० मा भएको स्थानीय तह निर्वाचन र मङ्सिरमा भएको आम निर्वाचनमा निर्वाचित प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्वय समिति प्रमुख एक–एक र १७ वडाध्यक्ष पद रिक्त भएको पाइएको हो ।

निर्वाचन आयोगबाट रातोपाटीले प्राप्त गरेको सूचीमा अधिकांशको मृत्युको कारण पद रिक्त भएको देखिन्छ । २१ पद रिक्त पदमध्ये कांग्रेसका १२ स्थान, एमालेका ४, माओवादी ४ र स्वतन्त्र एक रहेका छन् । सात वटा प्रदेशमध्ये सबैभन्दा धेरै पद सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका छन् ।

कोशी र मधेस प्रदेशमा दुई–दुई पद रिक्त छन् भने लुम्बिनीमा र कर्णालीमा तीन–तीन पद रिक्त छन् । यस्तै, बागमतीमा चार, गण्डकीमा एक र सुदूरपश्चिम प्रदेशमा पाँच पद रिक्त रहेका छन् ।

कांग्रेस निर्वाचित यी हुन् रिक्त १२ पद

कांग्रेसबाट बझाङ–१ को प्रदेश सभा सदस्यमा निर्वाचित पृथ्वीबहादुर सिंहको निधनपछि उक्त पद रिक्त छ । सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री सिंहको सवारी दुर्घटनामा परी गत असार ५ गते निधन भएको थियो ।

कैलाली जिल्ला समन्वय समिति प्रमुख पदमबहादुर कलेलको निधन भएर पद रिक्त छ । गत कांग्रेसबाट निर्वाचित समिति प्रमुख जितेका कलेलको २०७९ पुस २३ मा निधन भएको थिए ।

कांग्रेसबाट निर्वाचन दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरुङको पनि निधन भएको थियो । गत वर्ष माघ २७ मा गुरुङको निधन भएपछि महाबु गाउँपालिका नेतृत्वविहीन अवस्थामा छ ।

यस्तै, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसबाट निर्वाचित श्यामसुन्दर तामाङको निधन भएको छ । गत असार ३१ मा हृदयाघातका कारण उनको निधन भएपछि पद रिक्त छ ।

डोटीको पूर्वाचौकी गाउँपालिका–६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको निधनपछि पद रिक्त छ । गत वर्ष मङ्सिरमा जोशीको निधन भएको थियो ।

गुल्मीको मुसिकोट नगरपालिका– १ का वडाध्यक्ष मोहन घिमिरेको निधन भएको छ । गत भदौ २ गते झुण्डिएको अवस्थामा उनी मृत फेला परेका थिए ।

रोल्पाको रुन्टीगढी गाउँपालिका–४ का वडाध्यक्ष टंकबहादुर पुनको असार २७ गते निधन भएर, यस्तै ककनी गाउँपालिका–२ का वडाध्यक्ष तिलकबहादुर लामाको गत जेठ ३१ गते निधन भएर, रौतहटको राजपुर नगरपालिका–६ का वडाध्यक्ष शेख मोजरे आलमको निधन भएरै तथा उदयपुरको त्रियुगा नगरपालिका–१२ का वडाध्यक्ष चुडाराज काफ्लेको गत वर्ष फागुन १४ मा सवारी दुर्घटनामा परी निधन भएर पद रिक्त छ । यी सबै कांग्रेसबाटै निर्वाचित थिए ।

बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा वडाध्यक्ष पद रिक्त छ । वडाध्यक्षमा निर्वाचित कांग्रेसका सूर्यबहादुर विष्ट जिल्ला समन्वय समिति सभापति भएपछि वडाध्यक्षको पद खाली रहेको हो ।

काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको भदौ २१ गते आजै निधन भएको छ । उनी पनि नेपाली कांग्रेसबाटै निर्वाचित थिए ।

एमालेबाट निर्वाचित ४ पद रिक्त

गत वर्ष कात्तिक ११ गते गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर राना, गत जेठ २५ गते बझाङको सुर्मा गाउँपालिका– ४ का वडाध्यक्ष सर्जन बोहराको निधनले पद रिक्त भएको छ । उता सुनसरीको गढी गाउँपालिका–६ का वडाध्यक्षको पद पनि रिक्त छ । त्यहाँ एमालेबाट सदानन्द उराँव झागर निर्वाचित भएका थिए ।

निर्वाचन आयोगले पद रिक्तबारे भने केही खुलाएको छैन । रौतहटको ईशानाथ नगरपालिका–७ मा पनि वडाध्यक्षको पद रिक्त छ । गत निर्वाचनमा यहाँ एमालेका शेख खलीउल्लाह वडाध्यक्षमा निर्वाचित भएका थिए ।

माओवादीबाट निर्वाचित ४ पद रिक्त

माओवादी केन्द्रबाट निर्वाचित जाजरकोटको कुशे गाउँपालिका–७ का वडाध्यक्ष मनबहादुर घर्तीको असार ४ गते निधन भएर तथा दार्चुलाको दुहुँ गाउँपालिका–५ का वडाध्यक्षको मनोरथ भट्टको पनि निधन भएर पद रिक्त छ ।

मकवानपुरको हेटौडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पद रिक्त छ । माओवादीबाट निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समितिको सभापति बनेपछि वडाध्यक्ष पद रिक्त भएको हो ।

कालिकोटको तिलगुफा नगरपालिका–४ का वडाध्यक्षको परबहादुर शाहीको गत वर्ष असोजमा निधन भएको थियो । मलामी गएका बेला पहिरोले पुरिएर वडाध्यक्ष शाहीसहित १३ जना बेपत्ता भएका थिए । बेपत्ता भएका उनीहरु मृत भेटिएका थिए ।

यस्तै, काठमाडौँको कीर्तिपुर नगरपालिका–४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको छ । गत वैशाख १० गते मोटरसाइकल दुर्घटनामा गरी अधिकारीको निधन भएका अधिकारी स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *