
एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
भाद्र–२८,बिहिबार ।
सर्वोच्च अदालतले नयाँ मापदण्ड बनाएर रुकुम पूर्व जिल्लाको सदरमुकाम तोक्न सरकारका नाममा आदेश जारी गरेको छ ।
बुधबार बसेको संवैधानिक इजलासले १५ माघ २०७४ सालको सरकारको निर्णय बदर गर्दै निश्चित मापदण्डका आधारमा सदरमुकाम तोक्न वा सार्न आदेश जारी गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले तत्कालिन शेरबहादुर देउवा सरकारले गरेको गोलखाडामा सदरमुकाम तोक्ने निर्णय खारेज गरेको हो ।
२०७२ सालमा जारी गरिएको नयाँ संविधानमा रुकुम जिल्लालाई विभाजन गरेर रुकुम पूर्व र रुकुम पश्चिम बनाइएको थियो । त्यतिबेला सरकारले रुकुमपूर्व जिल्लाको सदरमुकाम अस्थायी रुपमा सिस्ने गाउँपालिकाको रुकुमकोटमा तोक्ने निर्णय गरेको थियो । पछि शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि रुकुम पूर्वको सदरमुकाम पुथा उत्तरगंगा गाउँपालिका(१२ को गोलखाडा भन्ने ठाउँमा तोकेको थियो ।
उक्त निर्णय विरुद्ध गणेश हमाल, कृष्ण रेग्मी र दलबहादुर बस्नेतले रुकुमकोटका बासिन्दा सर्वोच्च अदालतमा रिट दिएका थिए । उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश दीपककुमार कार्कीको इजलासले सरकारको आदेश यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो । आदेशपछि अहिलेसम्म पनि रुकुमकोट सदरमुकामको रुपमा रहिआएको छ ।
रुकुमपूर्वको सदरमुकाम कहाँ रहने भन्नेबारे रुकुमकोट र गोलखाडाका बासिन्दाहरुबीच बैमनस्य र विवादसमेत भएको थियो । विवाद बढ्दै गएपछि २१ माघ २०७५ मा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो ।