एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
कार्तिक १४, मंगलबार ।
सञ्चालन भएको १ महिना नपुग्दै सूर्यविनायक–रत्नपार्क द्रुत बससेवा बन्द भएको छ । गत असोज असोज ३ गते संविधान दिवसको दिनदेखि शुरु भएको द्रुत बससेवा दशैँदेखि नै बन्द भएको हो ।
द्रुत मार्ग खाली गर्न ट्राफिक प्रहरीले आवश्यक सहयोग नगरेको व्यवसायीहरुले बताएका छन् । ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले एक अर्कालाई दोष लगाएका छन् । भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले भने दशैँदेखि तिहारसम्म काठमाण्डौ उपत्यकाका सडकमा जाम नहुने र यही बेला प्राविधिक र व्यवस्थापकीय समस्या सुल्झाउन द्रुत बस सेवा रोकिएको बताउनुभयो ।
उहाँले तिहारको बिदा सकिएकै दिनदेखि पूर्ण क्षमतामा द्रुत बस सञ्चालन हुने दाबी गर्नुभयो । द्रुत बस सेवा रोकिएको नभएर अहिले २५ वटा मात्र सञ्चालनमा रहेकामा त्यो सङ्ख्या बढाएर लैजाने गरी तयारी थालिएको मन्त्री ज्वालाको भनाइ छ । द्रुत बस सेवा सञ्चालनका लागि सरकारले झण्डै साढे दुई करोड रुपैयाँ खर्च गरेर सडकमा ट्रयाक छुट्याउनका लागि रङ्ग पोतेको थियो ।