एनएमबि न्युज डेक्स,काठमाडौं
कात्तिक १४ ,मंगलबार
दशैंको सकिए लगतै मकवानपुर प्रहरीले गाँजा फडानीको अभियानलाई तीब्र बनाउने संकेत गरेको छ । प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिका पुगेर एकै दिन ६१ विगहा गाँजा फडानी गरेको हो ।
प्रहरीले राक्सीराङ गाउँपालिका वडा नंबर ९ रुन्चेवाङ, डनटार, झरना क्षेत्रमा १५ विगा, राक्सिराङ ४ जयसिंङताल, यतिखोला क्षेत्रमा २७ विगहा तथा गैरीखेत बाजोखेत क्षेत्रमा १९ विगहा गाँजा फडानी गरेको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीले दशैं अघि चालु आर्थिक वर्षमा १५ विगा गाँजाखेती नष्ट गरिसकेको थियो । सामान्यतया पश्चिम मकवानपुरको राक्सिाराङ, कैलाश, उत्तरी मकवानपुरको भीमफेदी तथा थाहा नगरको केहि क्षेत्रका किसानहरुले गाँजा लगाउने गरेका छन् । प्रहरीले भदौदेखि मंसिरसम्म गाउँगाउँ पुगेर गाँजा खेतिमा आगो लगाउने, फडानी गर्ने काम प्रत्येक वर्ष गर्ने गरेको छ ।
प्रहरीले सुरु गरेको गाँजा फडानीको स्थानीय नेताहरुले बिरोध गरेका छन् । माओवादी केन्द्रका नेता विरबहादुर लामाले गरिब किसानको मेहनत नष्ट गर्ने काम बन्द गर भन्दै सामजिक सञ्जालमा प्रहरीले गाँजा फडानी गरेको तस्बिर पनि राखेका छन् ।
स्थानीय प्रदिप कालाखेतीले नेपाललाई थप गरिब बनाउने प्रयास गरेको भन्दै ब्यङग्य पनि गरेका छन् । स्थानीय जनताको बिरोधबीच मकवानपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख सहितको टोलीले आज गाँजा फडानी क्षेत्रको अवलोकन गर्ने भएका छन् ।
उनीहरुको अवलोकनको समयमा उच्च प्रहरी सतर्कता अपनाइने मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले बताउनुभयो ।