एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
कार्तिक १७ शुक्रबार ।
तिहारमा मा बजार मा उपभोग हुने चिनीको अभाव हुन नदिने तयारी गरीरहेको सरकारले जनाएको छ । दशैँको जस्तै तिहारमा पनि विभिन्न उद्योगहरुसँग सहकार्य गरेर बजारमा चिनी पठाउन थालिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।
विभागका अनुसार एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ । हिजो गुह्वेश्वरी ट्रेड लिङ्कमार्फत एक सय ६० बोरा चिनी क्षेत्रपाटी, शोभाभगवती, पकनाजोल र नरदेवीलगायत क्षेत्रका खुद्रा पसलमा बिक्रीका लागि पठाइएको नेपाल खुद्रा व्यापार सङ्घका कार्यवाहक अध्यक्ष नरेशबाबु शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार आज काठमाण्डौका भित्रि सहरका पसलमा थप छ सय बोरा चिनी पठाइने विभागले जनाएको छ ।
सङ्घले उपलब्ध गराएको चिनी खुद्रा व्यापारीले प्रतिकिलो एक सय १७ रुपैयाँमा बिक्री गर्नेछन् । यो मूल्यभन्दा बढी नतिर्न उपभोक्तालाई उहाँको आग्रह गरेका छन । सङ्घले उपलब्ध गराएको चिनी पाइने सूचना हरेक पसलमा टाँस गर्न उहाँले अनुरोध गर्नु भएको छ ।
हिजो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सरोकारवालाको बैठकले बजारमा चिनीको अभाव हुन नदिन सबै रणनीति अख्तियार गर्ने निर्णय गरेको पनि जानकारी दिनुभयो ।
बैठकले अवैध ढङ्गले नेपाली बजारमा चिनी भित्रिएको र चर्को मूल्यमा करछली गर्दै बजारमा पठाइने गरेको निष्कर्ष निकाल्दै चिनीको कालोबजारी रोक्न राज्यका सम्पूर्ण निकायलाई परिचालित गर्ने निर्णय गरेको थियो ।
यसैबीच, प्रहरीले चिनीको कृत्रिम अभाव सिर्जना गरेको पाइएमा जानकारी दिन आग्रह गरेको छ । प्रहरीले सूचना निकालेर चिनीको कालोबजारी वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा पैसा नलाग्ने १०० नम्बरसहित हेलो सरकार वा नेपाल प्रहरीको आधिकारिक सामाजिक सञ्जालमा जानकारी गराउन समेत आग्रह गरेको छ ।