एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
कार्तिक २१ मंगलबार ।
नेपालमा ९० प्रतिशत मानसिक रोगी उपचारबाट वञ्चित भएका मनोचिकित्सकहरूले बताएका छन् । आज मङ्गलवारदेखि काठमाण्डौमा शुरु भएको १४ औँ सार्क अन्तर्राष्ट्रिय मनोचिकित्सक सम्मेलनमा सार्क राष्ट्रका मनोचिकित्सकहरूले यो जानकारी दिएका छन् ।
मनोचिकित्सक डा। कमल गौतमले विश्वव्यापी रूपमा मानसिक स्वास्थ्यको उपचार नपाउनेहरू ८४ प्रतिशत रहेको बताउनु भयो । उहाँले नेपालमा ९० प्रतिशत मानसिक रोगी उपचारबाट वञ्चित रहेका बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले समग्र स्थिति हेर्दा विश्वव्यापी रूपमा मानसिक स्वास्थ्यको उपचार नपाउनेहरू ८४ प्रतिशत रहेका छन् । धेरैजसो यो सङ्ख्या विकासोन्मुख देशहरूमा छ । नेपालको अवस्था हेर्दा झन्डै ९० प्रतिशत मानसिक रोगी उपचारबाट वञ्चित छन् । सार्कमा समग्रमा विकासोन्मुख देशको अवस्था उस्तै रहेको छ । आत्महत्याको तथ्याङ्क हेर्दा एसियामा जनसङ्ख्याको हिसाबले भारतमा सबैभन्दा धेरै छ ।’
सम्मेलनमा मनोचिकित्सक डा। सरोज ओझाले कडा खालको मानसिक रोगको उपचार राज्यले गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा मानसिक स्वास्थ्य ऐन छुट्टै बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले आत्महत्या रोकथामका लागि राज्यले जनमानसमा जनचेतना फैलाउने तथा पीडितले अचानक सेवा चाहिए कहाँबाट सेवा लिने भन्नेका लागि हटलाइन सर्वसुलभ गर्ने र दक्ष जनशक्तिबाट आवश्यक परामर्श दिन आवश्यक रहेको बताउनुभयो ।