
एनएमबि न्युज डेक्स,काठमाडौँ
मंसिर २८,बिहिबार ।
जाजरकोटको भेरी नगरपालिका १ घुयलनेटा गाउँमा झाडापखालाको प्रकोप देखिएको छ। त्रिपालमा बस्दै आएका ५० बढी भूकम्प पीडितलाई झाडापखाला देखिएको हो।
भूकम्पपछि त्रिपालमा बस्दै आएका पीडितहरुलाई २र३ दिन यता पखालाले सताइरहेको वडा सदस्य नैनबहादुर विकले बताए।
घुयलनेटाका साथै डौरीकाँडा, भुन लगायतका गाउँमा पनि पखालाका बिरामी देखा परेका छन्। एक सय बढी घरधुरी रहेका ती गाउँमा चिसोले गर्दा पखाला, टाउको दुख्ने, बान्ता आउने लगायतका समस्या देखिएको स्थानीयले बताए।
स्थानीय धर्मशिला विकले आफू दुई दिनदेखि पखालाले थला परेको बताइन्। उनले आफूलाई पटक(पटक दिसा गर्न मन लाग्ने , दिसा पातलो आउने, उल्टी आउला जस्तो हुने, मुटु दुख्ने, चक्कर आउला जस्तो हुने र स्वास फेर्नसमेत गाह्रो हुने बताइन्।
गाउँमा धेरै बिरामी भएको खबर सुनेपछि आफूले वडा नम्बर १ को पिपेमा रहेको स्वास्थ्य केन्द्र र नगर स्वास्थ्य शाखामा खबर गरे पनि उपचारको लागि गाउँमा कोही नआएको वडा सदस्य नैनबहादुरले बताए।
जिल्लाका विभिन्न ठाँउमा पखाला, निमोनिया र स्वासप्रश्वास सम्बन्धी रोगका बिरामी बढ्दै गएका छन्। जिल्लामा भूकम्प पछि चिसोका कारण २८ जना दिर्घरोगी र अन्य रोगका बिरामीहरुको ज्यान गएको छ। त्रिपालको चिसोले भूकम्प पीडितलाई निकै सकस परिरहेको छ।