एनएमबि न्युज डेक्स,काठमाडौँ
मंसिर २९ शुक्रबार ।
जिल्ला कारागार कार्यालय चितवनमा १११ कैदीबन्दी बिरामी छन्। कारागारसँग पर्याप्त रकम नहुँदा समस्या भएको कारागार प्रशासन बताउँछ।
१११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचापबाट पीडित छन्। अन्य जिल्लाबाट उपचारका लागि कैदीबन्दी चितवन पठाउने गरिएको कार्यालय प्रमुख आचार्यले जानकारी दिए।
उनका अनुसार नवलपरासी, धादिङ, गोरखा, मकवानपुरलगायत जिल्लाबाट बिरामी कैदीबन्दी यहाँ उपचारका लागि ल्याउने गरिएको छ। अहिले कारागारमा मधुमेहका २६, थाइराइडका तीन, मुटुरोगी चार, एचआइभी सङ्क्रमित चार, छारेरोगबाट पीडित चार, मानसिक रोगी पाँच, हेपाटाइटिसबाट पीडित तीन तथा अन्य रोगबाट पीडित कैदीबन्दी छन्।
जिल्लामा केन्द्रीयस्तरको सरकारी अस्पताल, क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज र २४ भन्दा बढी निजी अस्पताल रहेका कारण कैदीबन्दीलाई उपचारका लागि यहाँ पठाउने गरिएको छ। अहिले कारागारमा क्षमताभन्दा झण्डै २०० बढी कैदीबन्दी राखिएको छ ।
कारागारमा ४७५ पुरुष कैदीबन्दी राख्ने क्षमता रहे पनि ६७२, ३० कैदीबन्दी राख्ने क्षमता भएकामा ४१ तथा चार आश्रित बालबालिका गरी ७१७ कैदीबन्दी रहेका कार्यालय प्रमुख आचार्यले जानकारी दिए।