
एनएमबि न्यसज डेक्स,काठमाडौँ
पुस १०, मंगलबार ।
ऋण नतिरेको भन्दै सिन्धुली ढकालगाउँकी शारदा थापामाथि गरिएको अत्याचारको अभियोगमा सातजना पक्राउ परेका छन ।
ऋण नतिरेको भन्दै सिन्धुलीमा एक महिलालाई तीन दिनसम्म पिँढीको खाँबो र बिजुलीको पोलमा बाँधेर कुटपिट गरिएकोहो । कमलामाई नगरपालिका– ४, ढकालगाउँकी शारदा थापालाई स्थानीय केही युवाले गत शुक्रबार बिहानदेखि आइतबार अपराह्नसम्म मरणासन्न हुने गरी कुटपिट गरेका हुन् ।
उनकै घरको आँगनछेउ बिजुलीको पोलमुनि अचेत भई लडिरहेको अवस्थामा प्रहरीले उनको उद्धार गरेको छ । उद्धार गर्दा पनि शारदाको शरीरको आधा भाग पोलको डोरीमै बेरिएको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ ।
‘’ जिल्ला प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले भने, प्रहरी टोली आइतबार अपराह्न ४ बजे शारदाको घरमा पुग्दा आँगनमा बिजुलीको पुलमुनि अचेत अवस्थामा डोरीमै बेरिएको भेटिइन् । हामीले उद्धार गरेर सिन्धुली अस्पताल पुर्याएपछि होस खुलेको छ । अहिले नगरपालिकाको महिला सेफ हाउसमा सुरक्षित राखिएको छ, ‘घटना बुझ्दा पीडित महिलालाई तीन दिनसम्म यातना दिइएको पाइएको छ । लेनदेनको विषय जे भए पनि महिलालाई बन्धक बनाएर कुटपिट गर्नु आपराधिक र निन्दनीय कार्य हो ।’ चिकित्सकले शारदाको टाउकोमा चोट लागेको हुन सक्ने भएकाले एमआरआई गर्न भनेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय ईश्वरकुमार पोखरेल, मिलन देवकोटा, निकेश ढकाल, लक्ष्मी पोखरेल, विष्णु ढकाल र एकबहादुर खड्कालाई पक्राउ गरेको छ । उनीहरूसँगै श्रीमान् सन्तोष थापालाई पनि हिरासतमा लिएको छ । ईश्वरकुमार, मिलन, निकेश र लक्ष्मीविरुद्ध पीडितले किटानी जाहेरी नै दिएकी थिइन् । उनीहरूले बाँधेर मुक्का, लात्ती र लौरोले कुटपिट गरेको शारदाले प्रहरीलाई बयान दिएकी छिन् । पीडितको बयान उद्धृत गर्दै एसपी सिलवालले भनेअनुसार स्थानीय ईश्वरकुमार पोखरेल, मिलन देवकोटालगायत घरमा आई पिँढीको खाँबामा बाँधेर कुटपिट गरेका थिए । सोही दिन १० बजे शारदा र सन्तोष डिभोर्स प्रक्रियाअन्तर्गत रहेको सुनुवाइका लागि जिल्ला अदालत सिन्धुली पुग्नुपर्ने थियो । स्थानीयले बन्धन खोलिदिएपछि उनीहरू अदालत पुगेको, तर त्यहीँबाट एकाएक श्रीमान् गायब भएको भन्दै शारदा ‘श्रीमान् खोजिपाऊँ’ भन्दै जिल्ला प्रहरी कार्यालय आइपुगेको एसपी सिलवालले बताए । त्यसपछि अदालत फर्किएकी उनले आफूलाई ‘ईश्वरकुमार पोखरेल, मिलन देवकोटा, निकेश ढकाललगायतले जबर्जस्ती गाडीमा राखेर घर पुर्याएको, साँझ फेरि पिँढीकै खाँबोमा बाँधेर मुक्का, लात्ती, लौरोले कुटपिट गरेको, रातभर र शनिबार दिनभर पनि बाँधेर यातना दिएको’ बयान दिएकी छिन् ।यता शनिबार श्रीमान् सन्तोषलाई प्रहरीले सिन्धुलीमाडीमै फेला पारेको थियो । त्यतिवेला पटक–पटक प्रयास गर्दा पनि शारदालाई फोन नलागेपछि प्रहरीले सन्तोषलाई घर पठाइदिएको थियो । ‘शनिबार साँझ श्रीमान् घर आइपुग्नुभयो । त्यसपछि हामी दुवैलाई एउटै खाँबोमा बाँधेर कुटे । राति श्रीमान्लाई फुकाइदिए, मलाई भने आँगननजिकैको बिजुलीको पोलमा लगेर बाँधे । कुटपिटबाट कतिवेला अचेत भएँ थाहा भएन, होस खुल्दा त अस्पतालको बेडमा रहेछु,’ शारदाको भनाइ उद्धृत गर्दै एसपी सिलवालले भने ।
एसपी सिलवालका अनुसार शारदाका श्रीमान् सन्तोषले आफूहरूले स्थानीयसँग एक करोड २५ लाख ऋण लिएको बयान दिएका छन् । बयानअनुसार थापादम्पतीले काठमाडौंमा जग्गा किन्ने क्रममा उक्त ऋण लिएका थिए । तर, उनीहरूले ऋण तिर्न सकेका थिएनन् । यसै क्रममा सन्तोष र शारदा भने सम्बन्धविच्छेदको प्रक्रियामा प्रवेश गरेको पाइएको छ । सन्तोषले जग्गा बेचेर ऋण तिर्न खोजे पनि शारदाले नमानेको भन्नेजस्ता विषय पनि आएकाले यसबारे गहिरो अनुसन्धान हुने एसपी सिलवालले बताए । ‘श्रीमान्सँग डिभोर्स गरेपछि जायजेथा बिक्री गर्नुपर्दैन भन्ने आशय पनि हुन सक्छ, त्यसमा अनुसन्धान हुनै बाँकी छ,’ उनले भने । जिल्ला प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले भने– अचेत अवस्थामा मैले नै शारदाको उद्धार गरेको हुँ, आपराधिक कार्य भएको छ ।
शारदाले शुक्रबार श्रीमान् ९सन्तोष थापा० हराएको उजुरी गरेपछि प्रहरी खोजीमा लाग्यो । शनिबार उनी सिन्धुलीमाडीमै सकुशल भेटिए । श्रीमान् भेटिएको जानकारी दिन शारदालाई फोन गर्दा उठेन । त्यसपछि हामीले सन्तोषलाई घर जान भनेर पठाइदियौँ । शारदालाई पटक–पटक फोन गर्दा पनि सम्पर्क नभएपछि कतै उजुरी नै गलत त होइन भन्ने शंका लाग्यो । त्यसपछि आइतबार मेरै नेतृत्वमा प्रहरी टोली उनको घर गयो । त्यहाँ पुग्दा उनी बिजुलीको पोलनजिकै अचेत भएर लडिरहेको अवस्थामा भेटिइन् । उनको शरीरसँगै डोरी पनि बेरिएको थियो । हामीले आइतबार अपराह्न ४ः३० बजे उद्धार गरेर अस्पताल पुर्यायौँ । सन्तोषले आफूहरूले स्थानीयसँग एक करोड २५ लाख ऋण लिएको वयान दिएका छन् । लेनदेनको विषय जे भएपनि महिलालाई बन्धक बनाएर कुटपिट गर्नु कानुनविपरित र निन्दनीय कार्य हो ।