
एनएमबि न्युज डेक्स,काठमाडौँ
पुस ११ बुधबार ।
एक करोडभन्दा बढी रकम घुस लिएको आरोपमा सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिष्टार उदयबहादुर पराजुली पक्राउ परेका छन । कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र थप गर्न रकम लिएको आरोप मा प्रहरीले पराजुलीलाई पक्राउ गरेको हो
हाल पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहनुभएका पराजुलीलाई बुधबार प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको हो । केही दिनअघि जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन पराजुली आज कार्यालय गएको बेला प्रहरी ले पक्राउ गरेको हो।
पराजुलीलाई कार्यस्थलबाटै पक्राउ गरी पोखरा ल्याउँदै गरेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिनुभयो । “उहाँ आज कार्यालय जानुभएको रहेछ, अहिले पोखरा ल्याउँदै छौँ, बाटोमा हुनुहुन्छ,” थापाले भन्नुभयो ।
कुश्मा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुनुअघि उहाँ सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीमा रजिष्ट्रार हुनुहुन्थ्यो । सोही अवधिमा मित्र मिलनको कार्यक्षेत्र थप गर्ने विषयमा पराजुलीले रकम लिएको सहकारीका सञ्चालकहरूको बयानमा खुलेको र छानबिनमा क्रममा रकम लिएको देखिएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा एक करोड पाँच लाख रुपियाँ पराजुलीले लिएको देखिएको थियो । मित्रमिलनको रकम अपचलन अभियोगमा अहिलेसम्म पराजुलीसहित छ जना पक्राउ परिसकेका छन् । पोखरा २१ का वडाध्यक्षसहित दुई दर्जनभन्दा बढी अझै फरार छन् । फरारहरूको खोजी भइरहेको र अनुसन्धान जारी रहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।
मित्रमिलन सहकारीका सात सय ४४ बचतकर्ताले रकम फिर्ताको मागसहित जिल्ला प्रहरी कार्यालय कास्कीमा उनीहरुविरुद्ध जाहेरी दर्ता गरेका छन् । उनीहरूको दाबी २० करोड हाराहारी छ ।