खेलकुद

सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय तोकियो

Sandeep lamichhane 9aEPGZv7qw

एनएमबि न्युज डेक्स,काठमाडौँ
पुस २५,बुधबार ।

क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय सुनाएको छ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ३ ९ङ० बमोजिम ८ वर्ष कैद हुने फैसला सुनाएको हो।

अदालतले उनलाई ३ लाख रूपैयाँ जरिवाना पनि सुनाएको छ। जरिवाना बापतको ३ लाख र पीडितलाई पुग्न गएको मानसिक असर समेतलाई ध्यानमा राखेर थप दुई लाख रूपैयाँ क्षतिपूर्ति गरी ५ लाख रूपैयाँ पीडित युवतीलाई भराउन आदेश भएको अदालतका प्रवक्ता चन्द्रप्रसाद पन्थीले जानकारी दिए।

गत पुस १३ गते नै अदालतले एक युवतीलाई बलात्कार गरेको मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो। १० वर्षभन्दा कम सजाय तोकिएको मुद्दामा प्रतिवादीले थुनाबाहिरै रहेर उच्च अदालतमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था पनि छ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३७ मा पुर्पक्षका लागि थुनामा नबसेको अवस्थामा १० वर्षसम्म कैद सजाय भएको कसुरदारले थुनामा नबसी पुनरावेदन दिने अनुमतिका लागि कारण खुलाई निवेदन गर्न सक्ने र त्यस्तो कारण मनासिव देखिएमा पुनरावेदन सुन्ने अदालतले अनुमति दिन सक्ने व्यवस्था छ। त्यसका लागि लामिछानेका कानुन व्यवसायी उच्च पुगिसकेका छन्।

गत वर्ष भदौ ५ गते युवतीलाई गौशालास्थित होटलमा लगेर बलात्कार गरेको भन्दै लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो । यससँगै उनी असोज २० गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए ।

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले गत कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। तर उच्च अदालतले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो।

उच्च अदालतको आदेशविरूद्ध महान्यायाधिवक्ताको कार्यालय र सन्दीप लामिछाने सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले गत वर्ष फागुन १५ गते उच्च अदालत पाटनको आदेश केही उल्ट्याएर राष्ट्रिय खेलाडी भएको भन्दै सन्दीपलाई विदेशमा हुने प्रतियोगिता खेल्न जाने अनुमति समेत दिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस