
एनएमबि न्युज डेक्स,काठमाडौँ
माघ ३ बुधबार
रिडीमा गङ्गा आरती (गण्डकी आरती) सुरु भएको छ । चारधाम मध्येको एक धाम रुरुक्षेत्र धाम रिडीमा गङ्गा आरती (गण्डकी आरती) माघ १ गते माघे सक्रान्तिको अवसर पारेर सुरु भएको हो ।
गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रुरुक्षेत्र धाम रिडीमा माघ १ गते देखि सुरु भएको गण्डकी आरती आगामी ७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । भारतको बनारसबाट गुरु बोलाई रिडीका गुरुहरुलाई सिकाउने र त्यसपछि निरन्तर गण्डकी आरती सञ्चालन गरिने पनि आयोजकले जानकारी दिएको छ ।
रुरुक्षेत्रका विभिन्न संघ–संस्था, उद्योगी, व्यापारी, समाजसेवी लगायतको भेलाले रुरुक्षेत्र रिडीमा गङ्गा आरती गर्ने निर्णय गरेको हो । आरति कार्यक्रमलाई व्यबस्थित बनाउनको लागि २७ सदस्यीय आरती मुल व्यवस्थापन समिति गठन समेत गरिएको छ ।
प्रत्यक दिन साझ ४ बजेदेखि गंगा आरती सुरु भएको आयोजकको भनाई रहेको छ । गंगा आरतिको दर्शन गर्न स्थानियहरुको घुइचो लाग्ने गरेको छ ।