
एनएमबि न्युज डेक्स,काठमाडौँ
माघ २६ शुक्रबार
बालकुमारी घटना जाँचबुझ आयोगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सिंहदरबारस्थित आयोगको कार्यालयमा गएर बयान दिएका छन् । गत पुष १३ गते ललितपुरको बालुकमारीमा प्रहरीको ‘घातक’ बल प्रयोगबाट वैदेशिक रोजगारीमा जान चाहने अछामका वीरेन्द्र शाह र दैलेख घर भएका सुजन रावतले ज्यान गुमाएका थिए । प्रदर्शन स्थलमा अकस्मात् भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला उपस्थित भएपछि भिड थप आक्रोशित बनेको थियो। साथै मन्त्री ज्वाला चढ्ने बा।२ झ ५८६१ नम्बरको गाडी पनि प्रदर्शनकारी हरु ले जलाएका थिए ।प्रदर्शन स्थलमा जानुको कारणबारे मन्त्री ज्वालासँग आयोगका पदाधिकारीले बयान लिएका हुन् । मन्त्री ज्वालाले बालकुमारीस्थित कान्तिपुर गार्डेनमा आफ्नो पार्टी नेकपा एकीकृत समाजवादी को बैठकमा पुस ११ र १२ मा लगातार गएको र त्यसदिन पनि ‘नर्मल होला’ हेतु ले आफु गएको पदाधिकारीहरूसँग बताएका छन् । उनले भनेका छन्–‘परिस्थिति नर्मल होला भन्ने भयो, त्यस्तो होला भन्ने आकलन नै गरिएन ।’नेकपा एकीकृत समाजवादी ले आफ्नो दलको बैठकबारे स्थानीय प्रहरीलाई जानकारी नगराएको छानबिनबाट थाहा भएको छ । त्यस्तै, जिल्ला प्रहरी परिसर ललितपुरले बैठक स्थलमा सुरक्षाकर्मी नखटाएको आयोगको निष्कर्ष छ । आयोगका एकजना सदस्य भन्छन्–‘मोटरसाइकलमा प्रहरी परिचालन गरेको प्रहरी अधिकृतहरूको जिकिर छ तर, सीसीटिभी फुटेज जाँच गर्दा बैठक स्थलमा स्थानीय प्रहरीको उपस्थिति देखिएन ।’सशस्त्र प्रहरी बलको तर्फबाट घटनास्थलमा दुई राउन्ड अश्रुग्याँस मात्र प्रहार भएको छानबिनबाट खुलेको छ । बालकुमारी घटना जाँचबुझ आयोगले अहिलेसम्म ४१ जनासँग सोधपुछ र बयान लिएको छ । आयोगका अध्यक्ष पूर्व न्यायाधीश शेखर पौडेल भन्छन्– ‘४१ जनासँग बयान लिने र कागज गर्ने काम सकेका छौँ ।’आयोगको आग्रहमा मन्त्रिपरिषद्ले १५ दिनको म्याद थप गरेको छ । आयोगको म्याद फागुन ५ मा सकिन्छ ।किष्ट अस्पतालमा मृत्यु भएका सुजन रावतलाई गोली नलागेको पुष्टि भएको छ । रावतको मृत्युको कारण ‘ब्लन्ट फोर्स इन्जुरी’ बाट भएको चिकित्सकहरूले पोस्टमार्टम रिपोर्टमा उल्लेख गरीएको छ । रावतको मृत्यु दौडिँदा ठोक्किएर, ग्याँस सेलले लागेर वा लाठी प्रहारबाट हुनसक्ने विश्लेषण गरिएको छ ।