एनएमबि न्युज डेक्स,काठमाडौँ
फागुन–४ शुक्रबार ।
लमजुङको सुन्दरबजार नगरपालिका–७ पाउँदीमा एक सय आठ फिट उचाइको सिद्धेश्वर महादेवको मूर्ति निर्माणकार्य अन्तिम चरणमा पुगेको छ।
कर्मदा नदीको शिवजी महादेव मन्दिर संरक्षण समितिले मस्र्याङ्दी नदी नजिकै पर्यटन र धार्मिक क्षेत्र बनाउनका लागि महादेवको मूर्ति निर्माण गरिरहेको हो।
संरक्षण समितिका उपाध्यक्ष चन्द्रप्रसाद पोखरेलका अनुसार यस मूर्तिको रङरोगन गर्ने कार्य मात्र बाँकी रहेको र अब डेढ महिनाभित्रमा सकिनेछ।
काठमाडौँ र पोखराबाट कालिगढ ल्याएर निर्माण गरिरहेको तथा बालुवा र सिमेन्टले मात्र मूर्ति निर्माण गरिएको उनको भनाइ छ। मूर्तिका साथै महादेवको बाहन साँढे पनि निर्माण गरिएको छ। मूर्ति बनाउनका लागि मात्र हालसम्म करिब रु डेढ करोड खर्च भइसकेको समितिले जनाएको छ।
समितिका अनुसार यसको अलवा सोही परिसरमा एक सय आठ शिवलिङ्ग र एक सय आठ धारा निर्माण गर्न लागिएको छ।