जीवनशैली

नेपाललाई बुद्ध जन्मिएको देशका रूपमा चिनाउँदै नास डेली

एनएमबि न्युज डेक्स,काठमाडौँ
फागुन–४ शुक्रबार

चर्चित इजरायली भ्लगर नुसेर यासिन उर्फ नास डेली (Nas daily) बौद्ध धर्मबारे अध्ययन गर्न नेपाल आएको बुझिएको छ । शनिवार नेपाल आएर आइतवार स्वदेश फर्किएका उनले सामाजिक सञ्जालमा एक भिडिओ राख्दै आफू बौद्ध धर्मका गुरुसँग त्यस विषयमा जान्न र बुझ्न लुम्बिनी आएको बताएका छन् ।शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेपछि उनले विमानस्थलमा रहेको बुद्धको मूर्तिसँग खिचेको फोटो सामाजिक सञ्जालमा राखेका थिए । उक्त फोटोसँगै नास डेलीले केही फरक गर्न नेपाल आइपुगेको उल्लेख गरेका थिए ।त्यसपछि उनले क्रमशः आफू लुम्बिनी पुगेको र बौद्ध धर्मका गुरुसँग गरेका कुराकानी गरेको फोटो सार्वजनिक गरेका थिए ।यसअघि छ महिनासम्म शारीरिक व्यायाम गर्ने ‘च्यालेन्ज’ लिएका भ्लगर नास डेलीले अबको छ महिनासम्म आध्यात्मिक रूपमा पनि स्वस्थ हुने ‘च्यालेन्ज’ लिएको बताएका छन् ।“म मेरो जीवनको सबैभन्दा सुन्दर च्यालेन्ज लिन जाँदैछु,” नास डेलीले हालै सार्वजनिक गरेको भिडिओमा भनेका छन्, “गत वर्ष मैले फिटनेस च्यालेन्ज लिएको थिएँ । त्यसको मुख्य उद्देश्य शारीरिक रूपमा तन्दुरुस्त हुने थियो । अब भने आध्यात्मिक रूपमा स्वस्थ हुन विभिन्न धर्म अध्ययन गर्ने च्यालेन्ज लिँदैछु ।”यो छ महिनाको अवधिमा विभिन्न धार्मिक गुरुहरूसँग कुरा गर्ने र त्यसैलाई भिडिओमार्फत सबैलाई देखाउने उनको च्यालेन्ज रहेको छ । उक्त च्यालेन्जको सुरुवात उनले नेपालको लुम्बिनीमा आएर बौद्ध धर्मबारे अध्ययन गरी सुरु गरेका छन् । उनले भिडिओमा पनि आफू उक्त च्यालेन्ज पूरा गर्न सम्बन्धित धर्मको सबैभन्दा पवित्र स्थानमा जाने भएकाले बौद्ध धर्मका लागि नेपाल आएको बताएका छन् । उनको नेपाल भ्रमण र भिडिओमार्फत बुद्ध नेपालमा जन्मिएको सन्देश पुग्ने अपेक्षा लिइएको छ ।*उनले हिन्दु धर्मको अध्ययनका लागि भारतको बनारस, इजरायलको जेरुसेलेममा यहूदी र इसाई, इस्लामका लागि साउदी अरेबियाकाे मक्का र नास्तिकवादको अध्ययन गर्न इक्वेडर पुग्ने बताएका छन् ।नेपालमा उनले बौद्ध धर्मबारे के के कुरा अन्वेषण गरे भन्नेबारे नयाँ भिडिओमा बताउने सङ्केत दिएका छन् ।आइतवार कार्ड नचल्दा त्रिभुवन विमानस्थलमा अलपत्र परेका भ्लगर नास डेलीलाई एक नेपालीले १५ हजार रुपैयाँ सापटी दिएपछि उनी दङ्ग हुँदै सामाजिक सञ्जालमा उक्त घटना शेयर गरेका थिए । त्यसबाहेक उनले आफ्नो सामाजिक सञ्जालमार्फत नेपाललाई बुद्धको जन्मस्थलका रूपमा चिनाएका छन् ।उनी यसभन्दा पहिले पनि नेपाल आएका थिए । १० दिनकाे बसाइँमा उनी अन्नपूर्ण बेस क्याप ट्रेक गएका थिए । साथै डा. सन्दुक रुइतबारे भिडिओ समेत बनाएका थिए ।हाल उनले आफ्नै नास एकेडेमी, नास स्टुडियो, नास आईओ चलाइरहेका छन् । उनका फ्यान नेपालमा पनि ठूलो संख्यामा रहेका छन् ।

स्रोत : TechPana

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस