
एनएमबि न्युज डेक्स,काठमाडौँ
जेठ–२९,बुधबार ।
टिपरको ठक्करबाट मकवानपुरको मनहरीमा मंगलबार राति एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपरासीको मध्यविन्दु नगरपालिका– १४ का ४७ वर्षीय दिलबहादुर टन्डन क्षेत्री रहेको प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरीका अनुसार मनहरी गाउँपालिका– ७ रमनटारस्थित पूर्व–पश्चिम राजमार्गमा मनहरीबाट चितवनतर्फ जाँदै गरेको ना।७ख ८४४९ नम्बरको टिपरले हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको बा।प्र।०२(०३० प १६३१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरचालक क्षेत्री गम्भीर घाइते भएका थिए ।
उनको उपचारका क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । मृतक क्षेत्रीको सालो नाता पर्ने ललितपुर महानगरपालिका– ४ बागडोल बस्ने राजीव थापाले उनको पहिचान गरेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
टिपर र टिपरचालक नवलपरासी मध्यविन्दु नगरपालिका– १० अरुणखोला बस्ने वर्ष ४० को वीरबहादुर कुमाललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको डिएसपी भण्डारीले बताए ।