अनुज पछाई,काठमाडौँ ।
भाद्र–२७, बिहिवार ।
नेपालकै इतिहासमा हालसम्मकै ठूलो ऐतिहासिक पशुपति कोटिहोम महायज्ञ श्रावण महिनाभर पशुपतिमा सञ्चालन भई सम्पन्न भएको थियो । नेपालकै इतिहासमा हालसम्मकै ठूलो मानिएको उक्त महायज्ञको अवधिमा देश तथा विदेशबाट करिब १ करोड भक्तजनहरुले दर्शन पनि गरेका थिए ।
मामाघर आश्रम ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन आदि निर्माण सहयोगार्थ आयोजना गरिएको उक्त महायज्ञमा उपस्थित भक्तजनहरुले स्वःस्फुर्त दान पनि गरेका थिए ।
महायज्ञ समापन भएको केहि दिन पछि आयोजक मानव सेवा फाउण्डेसन नेपालले एक विशेष कार्यक्रमको आयोजना गरेर महायज्ञको सम्पूर्ण आय व्यय विवरण सार्वजनिक गरेको हो । महायज्ञको एक महिने अवधिमा २० करोड, १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा दान रकम सङकलन भएको आय व्यय सार्वजनिक कार्यक्रममा महायज्ञका संकल्पकर्ता यज्ञ शिरोमणी वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजले जानकारी दिएका छन् ।
त्यस्तै महायज्ञका विविध शिर्षकमा २० करोड, ८८ लाख ३२ हजार ७९४ ३८ पैसा खर्च भएको देखिएको छ । यसरी हेर्दा सङकलित रकम वा दान भन्दा खर्च रकम बढी देखिएको छ ।
यज्ञको खर्चमा अझै रकम अपुग देखिएतापनि कोटिहोम महायज्ञ अभुतपूर्व भएको र उक्त यज्ञको वर्णन कुनै पनि शब्दले गर्न नसकिने यज्ञका संकल्पकर्ता वालयोगेश्वर महाराजले बताएका छन् । साथै अबको तीन महिनाभित्र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माणको लागि सिलन्यास गरिसक्ने प्रतिबद्धता पनि उनले आय व्यय विवरण सार्वजनिक कार्यक्रममा व्यक्त गरेका छन् । त्यस्तै मामाघर आश्रम निर्माणको लागि पनि जग्गाको प्रकृया छिटो भन्दा छिटो टुङगोमा पुराएर भवन निर्माणको प्रकृया अगाडी बढाउने तयरीमा रहेको पनि उनले बताएका छन् ।