एनएमबि न्युज डेक्स,काठमाडौं ।
कार्तिक २१ बुधबार ।
सिम्रन खड्का
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कात्तिक २४ गते शनिबार थाहा नगरको पालुङमा आउने भएका छन् । माओवादी केन्द्रको सहायक संगठन वाईसिएल नेपाल थाहानगर कमिटीको दोस्रो सम्मेलन उद्घाटन गर्न प्रचण्ड थाहा नगर आउने भएका हुन् । पार्टी अध्यक्ष प्रचण्डको स्वागत तथा वाईसिएल नेपाल थाहानगरको दोस्रो सम्मेलनलाई सफल पार्न नेकपा माओवादी केन्द्र थाहा नगर कमिटीसहितका भातृ संगठनहरुले तयारीलाई तीब्र बनाएका छन् । प्रचण्डले कात्तिक २४ गते शनिबार थाहा नगरको ईन्द्रायणी चौरमा हुने सम्मेलन उद्घाटन सत्रको सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र थाहा नगर अध्यक्ष विनोदकुमार लामाले बताए ।
अध्यक्ष लामाका अनुसार प्रचण्डले पूर्व जममुक्ति सेना, शहीद तथा बेपत्ता परिवारलाई सम्मान गर्ने र पार्टीका नेता कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ । सम्मेलनलाई भव्यताकासाथ सफल बनाउन तीब्र तयारी गरिएको माओवादी केन्द्र थाहा नगर सचिव लक्ष्मण बिष्टले बताए । सचिव लक्ष्मण बिष्टले पार्टी र भातृ संगठनका टोल कमिटी, वडा कमिटी, पालिका कमिटीलाई क्रियाशिल बनाएर सबै प्रकारको तयारीमा जुटिरहेको जानकारी दिए । स्थलमार्ग अन्तरगत थानकोट–चित्लाङ (गणेशमान सिह मार्ग) भएर आउने अध्यक्ष प्रचण्डलाई चित्लाङमा पञ्चकन्या सहित स्वागत गरिने र थाहा नगरपालिका वडा नं. ६ बज्रबाराही सरस्वती बजारमा स्वागत गर्दै मोटरसाईकल ¥यालीसहित प्रचण्ड कार्यक्रम स्थल पालुङ आईपुग्ने कार्यक्रम रहेको माओवादी केन्द्र थाहा नगरकमिटीले जनाएको छ । कार्यक्रम स्थल प्रवेश बिन्दु गोपाली गाउँबाट इन्द्रायणीचौरसम्म विभिन्न झाँकी, बाजासहित पदैल ¥यालीको तयारी गरिएको गरिएको छ । ¥यालीमा महिला पञ्चेबाजा, तामाङहरुको झाँक्री/ढ्याङ्ग्रो नाँच, महिलाहरुको खैजडी भजन, गोपालीको बासुरी बाजा, नेवारहरुको धिमे बाजासहित विभिन्न झाँकीले अध्यक्ष प्रचण्डको स्वागत गर्ने तयारी रहेको छ । त्यस्तै सम्मेलनको तयरी अन्तरगत उद्घाटन स्थल ईन्द्रायणी चौरको सरसफाई, स्वागतद्वार निर्माण, प्रचारप्रसार, स्वागत ब्यानर राख्ने कार्य भईरहेको प्रेस सेन्टर थाहा नगर कमिटी अध्यक्ष शम्भु अधिकारीले बताए । सम्मेलनले वाइसिएल थाहा नगर कमिटीको नयाँ नेतृत्व चयन गर्ने वाइसिएल थाहानगर अध्यक्ष मानसिं दोङले बताए ।