
एनएमबि न्युज डेक्स,काठमाडौं
माघ ३ बिहिबार ।
इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने सहमति भएसँगै बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशी रिहाइको बाटो खुलेको छ ।
हमासले ७ अक्टोबर २०२३ मा इजरायलमाथि आक्रमण गरेयता विपिन बेपत्ता छन् । उनको रिहाइका लागि विभिन्न पहल भएपनि सफलता हासिल हुन सकेको छैन ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले यही पुस १ गते मात्रै हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरेकी थिइन् ।
खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्ति वार्ताका लागि प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुन् ।
विपिन अध्ययनका लागि इजरायल गएका थिए ।
गाजामा हमास र इजरायलबीच ७ अक्टोबर २०२३ देखि युद्ध चलेको थियो ।
हमासले इजरायलमा आक्रमण गरेर २५१ जनालाई बन्धक बनाएको थियो । हमाससँग हाल ९४ इजरायली बन्धक रहेको बताइएको छ ।
यद्यपि, इजरायलले यी बन्धकमध्ये ६० जना मात्र जीवित रहेको विश्वास गरेको छ । जवाफमा इजरायलले गाजामा हमासविरुद्ध सैन्य आक्रमण सुरु गरेको थियो ।
गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयका अनुसार यी आक्रमणमा ४६ हजार ५०० भन्दा बढी प्यालेस्टिनी मारिएका छन् ।