
२०८१ चैत ९ गते शनिबार
एनएमबि न्युज डेक्स,काठमाडौं
सिम्रन खड्का
चन्द्रागिरी हिल्सले पुरानो बाटो हुँदै भालेश्वर दर्शन गर्न जाने पैदलयात्रीहरूबाट १०० रुपैयाँ शुल्क असुल्ने निर्णय गरेको विषयमा सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको थियो। तर, यस विषयमा अटेर गर्दै चन्द्रागिरी हिल्सले शुल्क जारी राख्ने सूचना प्रकाशन गरेको विरोधमा आज थाहा नगरपालिकाका, चन्द्रागिरी नगरपालिका, र इन्द्रसरोवर गाउँपालिका स्थानीयवासीहरू एकजुट भएका छन्।
यो विरोध प्रदर्शन कुनै राजनीतिक दलको प्रभावमा नभई, स्थानीय युवाहरूले स्वाभाविक र स्वतन्त्र रूपमा आफ्नो स्थानको मुद्दामा आवाज उठाउन जुटेका थिए। उनीहरूले चन्द्रागिरी हिल्सको शुल्कको विरोध गर्दै धार्मिक स्थलमा लगाएको शुल्क हटाउनुपर्ने दाबी गरेका छन्।
स्थानीयहरूले चन्द्रागिरी भालेश्वर मन्दिरमा पूजाआजा गर्न जान १०० रुपैयाँ शुल्क तिर्नुपर्ने कुरालाई लिएर घोर भत्सना गरेका छन्। यस विरोध प्रदर्शनमा थाहा नगरपालिका, चन्द्रागिरी नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।
स्थानीयहरूले आज बिहान ११ बजे चन्द्रागिरी हिल्समा विरोध प्रदर्शन गर्दै, विभिन्न मागहरू राखेका छन्, जुन निम्नलिखित छन्:
-
चन्द्रागिरी हिल्सले नेपाल सरकारसँग केही वर्षको लागि लिजमा लिएको जग्गा र वन क्षेत्र भोगचलन गरिरहेको विवरण सार्वजनिक गरी सीमाङ्कन गर्नुपर्ने।
-
श्री भालेश्वर मन्दिर परिसर जाने पैदल यात्रुलाई चौबीसै घण्टा खुला राखी आवतजावतमा नियन्त्रण नगरियोस्।
-
श्री भालेश्वर मन्दिर जाँदा प्रयोग हुने बाटोको अवैध रूपमा असुल गरिएको रकम सार्वजनिक गरी, उक्त रकम सरकारवालाको रहबरमा सोही बाटोको स्तर उन्नतिको लागि खर्च गरियोस्।
-
चन्द्रागिरी भालेश्वर हुँदै चखेल इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ जाने बाटो सधैँ खुल्ला गरियोस्।
-
चन्द्रगिरी हिल्सले थाहानगरपालिका, इन्द्रसरोवर गाउँपालिका र चन्द्रागिरी नगरपालिकासँग गरेको सम्झौता अनुसार स्थानीयले रोजगारसहित सेवा सुविधा प्राप्त गरेका छन् वा छैनन्, त्यसको विवरण सार्वजनिक गरियोस्। नगरिएको भए, विगतका क्षतिपूर्ति हुने गरी चन्द्रागिरी हिल्सले कोटा बढाएर रोजगारी लगायत अन्य सेवा र सुविधा प्रदान गरियोस्।
-
वास्तविक भालेश्वर मन्दिरलाई ऐतिहासिक स्वरूपमा नराखी व्यापारिक प्रयोजनको लागि आधुनिक तरिकाले निर्माण गरी ऐतिहासिक मन्दिरलाई छायाँमा पारिएको हुँदा, उक्त मन्दिरको पुरानो मौलिकता कायम हुने किसिमले निर्माण गरियोस्।
यस विरोध प्रदर्शनले चन्द्रागिरी हिल्सको व्यवस्थापन र स्थानिय समुदायको बीचको सम्बन्धमा सुधारको आवश्यकता देखाएको छ। स्थानिय नागरिकहरूले हकहितको संरक्षण गर्दै, भविष्यमा यस्तो प्रकारका विवाद र असमानताका मुद्दाहरूको समाधानका लागि प्रभावकारी कदम चाल्नुपर्ने दाबी गरेका छन्।
यस विरोधमा थाहा नगरपालिका, चन्द्रागिरी नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका जनप्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो। जनप्रतिनिधिहरूले पनि यो मुद्दालाई समाधान गर्न सबै पक्षसँग समन्वय गर्ने प्रतिवद्धता जनाएका छन्।
एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुक र ट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।