समाचार

नारायणगढ-मुग्लिन सडकखण्ड पुन: अवरुद्ध

muglin road

काठमाडौं, साउन ७ –

नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ । ठूलो चट्टानसहित पहिरो खसेका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध बनेको छ । गएराति करिब ८:४५ बजे पहिरो खसेको हो । चारकिलोको पहिरो ३६ घण्टामा पन्छाएर मंगलबार दिउँसो ४:३० बजे सडक एकतर्फी खुलाइएको थियो ।

भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खसेको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ईन्जिनियर कृष्णराज अधिकारीका अनुसार चारकिलोको पहिरो पन्छाएर सडक एकतर्फी बनाएको केही घण्टामै पुनः पहिरो खसेको हो ।

पहिरो खसेसँगै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख पहिरोमा परी अड्किएका थिए । उनीहरु सडक अनुगमन गरेर फर्कने क्रममा पहिरोले रोकिएपछि सवारी साधन उतै छाडेर वैकल्पिक मार्गको प्रयोग गरी फर्किएका थिए ।

राति ठूलो चट्टानसहित पहिरो खसेका कारण पहिरो पन्छाउन के–कति समय लाग्छ अहिले भन्न नसकिने अधिकारीले जानकारी दिए । केहीबेरमा पहिरो पन्छाउने काम थालिने छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस