शिक्षा

शिक्षक माग्दै सल्यानमा बिद्यार्थीद्धारा चार विद्यालय सहित वडा कार्यालयमा तालाबन्दी

अनुदानका शिक्षक हटाएको नगरपालिकाले शिक्षकको नयाँ भर्ना अघि बढाउन अलमल गर्दा एक महिनादेखि पठनपाठन प्रभावित
salyannn

एनएमबि न्युज डेक्स काठमाण्डौ ।
भाद्र १२,मंगलबार ।

सल्यानमा शिक्षक अभावमा पढ्न नपाएको भन्दै आक्रोशित विद्यार्थीले बागचौर नगरपालिकाका चार विद्यालय र एउटा वडा कार्यालयमा तालाबन्दी गरेका छन् । बा न पा–३ चोरपानीको अमरज्योति मावि, वडा ६ जामुनेचौरको सरस्वती मावि, ११ नम्बर वडा कार्यालयसँगै त्यहाँका शिशु कल्याण मावि र सहिद भरत स्मृति विद्यालयमा सोमबार ताला लगाइदिएका हुन् ।

 

नगरपालिकाले अनुदानमा भर्ना गरेको शिक्षक हटाएको छ । नयाँ नियुक्तिका लागि पदपूर्तिको प्रक्रियालाई तीव्रता नदिँदा धेरै विद्यालयमा शिक्षक अभाव छ । धेरै विद्यालयमा विषयगत शिक्षक अभाव छ ।

 

विद्यार्थीले केही दिनअघि विद्यार्थीले टाटकेस्थित बालकल्याण मावि समेत तलाबन्दी गरेका थिए । सहिद भरत स्मृति विद्यालयमा भने नगरपालिकाले शिक्षक उपलब्ध गराउन नसकेको भन्दै विद्यार्थीअघि विद्यालय व्यवस्थापन समितिले नै तालाबन्दी गरेको थियो ।

नगरपालिकाले शिक्षक पदपूर्तिका लागि परीक्षासमेत नगर्दा पढ्न पाउने अधिकारबाट बञ्चित भएको भन्दै विद्यार्थी विरोधमा उत्रिएका हुन् । नगरपालिकाले शिक्षकको व्यवस्था नगरेसम्म विद्यालय खोल्न नदिने उनीहरुले बताएका छन् ।

विद्यार्थीहरुका अनुसार सरस्वती माविमा अनुदान र निजी स्रोतका ६ जना, अमरज्योति माविमा नेपाली, गणित र सामाजिक गरी ३ र शिशु कल्याण माविमा ३ जना शिक्षक अभाव छ । शिक्षक नभएर एक महिनादेखि पठनपाठन नभएको विद्यार्थीको गुनासो छ । सरस्वती माविका विद्यार्थी दुर्गाराम ओलीले अझै ढिला गरे नगरपालिकासमेत तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।

सरस्वती माविका प्रधानाध्यापक धनवीर ओलीले विद्यालय व्यवस्थापन स्थानीय तहको काम भएकाले विषयगत शिक्षक अभाव हटाउन जनप्रतिनिधिले चासो राख्नुपर्ने बताउँछन् ।

बागचौर नगरपालिका प्रमुख जनकराज गौतम भने अनुदानका शिक्षकलाई तलब खुवाउन गाह्रो भएपछि हटाइए पनि ‘एक कक्षा एक शिक्षक’को अवधारणा ल्याएर अभाव पूर्तिको प्रयास भइरहेको बताउँछन् । शिक्षक भर्नाका लागि पहिलो चरणको छनोट परीक्षा सम्पन्न गरेर दोस्रो चरणको परीक्षा बाँकी रहेको उनले बताए ।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस