अर्थनीति

कोरोना भाइरसका कारण यस वर्ष पुष्प मेला नहुने

puspa mela

२७ कात्तिक, काठमाडौं । हरेक वर्ष तिहारलाई लक्षित गरी हुने गरिएको ‘गोदावरी पुष्प मेला’ कोरोना भाइरसका कारण यस वर्ष नहुने भएको छ । विगत तेह्र वर्षदेखि हुँदै आएको पुष्प मेला यसवर्ष कोरोनाका कारण रोकिएको हो ।

तिहार आउन एक हप्ता बाँकी हुँदा जावलाखेलको फुटबल मैदानमा पाँच दिनसम्म उक्त मेला हुने गरेको थियो । गत वर्ष मेलामा विभिन्न ४०० प्रजातिका ५२ फूलको प्रदर्शनी कक्ष राखिएको थियो भने  रु ७५ लाखको आर्थिक कारोबार भएको थियो ।

मेलामा काठमाडौं उपत्यकाका फूल व्यवसायीले भाग लिने गरेका फ्लोरीकल्चर एसोसिएसनलेका अध्यक्ष कुमारकसजु श्रेष्ठले बताए । कोरोना फैलिरहेकै समयमा सुरक्षा सावधानी अपनाएर बजार खुले पनि पुष्प मेल गर्न नसकिने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

हरेक दिन काठमाडौं उपत्यकामा कोरोनाका बिरामी बढ्दै गएका र मेलामा ठूलो भीडभाड हुने र नियन्त्रण गर्न कठिन हुने हुनाले  यस वर्ष स्थगन गरिएको हो ।

बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने पनि अध्यक्ष श्रेष्ठले बताएका छन् । गत वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो ।

यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग छ । मागअनुरुप उत्पादन भएकाले आयातित फूलको आवश्यक नहुने भएको हो । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउने गरिएको थियो ।

विश्वभरी फैलिएको कोरोनाभाइरसका कारण यसअघि फूलले बजार नपाए पनि तिहारमा भने स्वदेशी उत्पादनले नै धान्ने छ । स्थानीय फूल फुलिरहेका छन् ती सबै फूल तिहारका लागि प्रयोग हुन्छ । व्यवसायीहरुले यसवर्षको पात्रो हेरेर व्यावसायिक रुपमा फूल लगाएका हुनाले उत्पादन राम्रो छ ।

विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । व्यावसायिकरुपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् ।

फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ । नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकाससँगै फस्टाउँदै गएको छ । काठमाडौं उपत्यकामा मात्रै ३०० व्यवसायीले यसको खेती विस्तार गरिसकेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस