समाचार

सुर्खेतमा निषेधाज्ञा फेरि १० दिन थपियो

lockdown

१५ जेठ, सुर्खेत । कोरोनाभाइरस रोकथामका लागि सुर्खेतमा एक महिनादेखि जारी निषेधाज्ञा पुनः १० दिन थप गरिएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समितिको सुझावका आधारमा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले यही जेठ २५ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिएका हुन् ।

जिल्लामा संक्रमणको दरमा केही कमी देखिए पनि संक्रमणको जालो तोड्न केही समय लाग्ने देखिएकाले निषेधाज्ञाको समय बढाउनुपरेको प्रशासनले जनाएको छ । यसअघि तोकिएको निषेधाज्ञाको अवधि आज राति सकिँदै थियो ।

प्रजिअ रिजालले निषेधाज्ञाले मानिसको आवागमन, भिडभाड तथा चहलपहल नियन्त्रण भएपछि संक्रमणको ‘चेन बे्रक’ हुन मद्दत पुग्ने विश्वास व्यक्त गरे । जनस्वास्थ्य सेवा कार्यालयका अनुसार सुर्खेतमा हालसम्म १० हजार बढीमा कोभिड संक्रमण देखिएको छ । यहाँ शुक्रबारसम्म दुई हजार ४०१ कोरोनाका सक्रिय संक्रमित छन् ।

जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कर्णाली प्रदेश सरकारबाट कोभिड–१९ को संक्रमणका कारण मृत्यु हुने मृतकका परिवारलाई उपलब्ध गराउने भनी निर्णय भएको एक लाख रुपैयाँ उपलब्ध गराउन अनुरोध गरेको छ ।

त्यस्तै, बैठकले होम आइसोलेसनमा बसेका संक्रमितलाई आवश्यक मनोसामाजिक परामर्शका गतिविधि सञ्चालन गर्न, पीसीआर नतिजा समयमै उपलब्ध गराउन सम्बन्धित स्थानीय तह र जिल्ला जनस्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस