समाचार

महाकाली नदीमा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

mahakali river

४ असार, दार्चुला । लगातारको वर्षाका कारण महाकाली नदीको सतह बढ्दै गएको छ । महाकालीमा पानीको सतह बढेसँगै जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले सजगता अपनाउन सबैमा आग्रह गरेको छ ।

आज बिहान महाकाली नदीको बहाव पाँच मिटर ८० सेन्टिमिटर पुगेको छ । प्रहरी चौकी दत्तुका अनुसार छ मिटर नाघ्यो भने खतरा हुन्छ । नदीमा ढुङ्गा तथा ठूला काठ बगिरहेका छन् । नदी बढेर सदरमुकाम खलङ्गाको बङ्गाबगड क्षेत्रमा तटबन्ध माथि चढेको छ ।

पत्रकार भोजराज जोशीका अनुसार निर्माणाधीन तटबन्धभन्दा माथि महाकाली पुगेको छ । अहिले नदीले पुरानै स्वरुप लिएको छ । नदीमा पानीको बहाव बढ्दा आसपासका क्षेत्रमा जोखिम बढेको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए । नदी तटीय क्षेत्र तथा जिल्लाका अन्य नदी तथा खोलामा बाढी आउन सक्ने सम्भावना रहेकाले जिल्लावासीमा सावधानी र सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

गत जेठ २८ गते मनसुन भित्रिएसँगै देशभर लगातारजसो पानी परिरहेको छ । यो हप्ता मनसुन सक्रिय भई देशभर पानी पर्ने हुँदा बाढी र पहिराको जोखिम रहेकाले सचेत रहन प्रशासनले आग्रह गरेको हो । विसं २०७० को महाकाली बाढीपछि तटबन्ध निर्माण भएका कारण अहिलेसम्म सदरमुकाम सुरक्षित रहेको भए पनि सदरमुकामभन्दा माथिल्लो क्षेत्र र दक्षिण क्षेत्रका बस्ती अहिले पनि जोखिममा छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस