एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
भाद्र–२२,शुक्रबार ।
सदरमुकाम मार्तडीमा रहेको बडिमालिका मन्दिरमा पूजा गर्न गएका दलित समुदायमाथि पुजारीले जातीय विभेद गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा निवेदन परेको छ। श्रीकृष्ण जन्माष्टमीको दिन लाग्ने पूजामा सहभागी हुन गएका दलित समुदायका युवतीको हातको पूजा सामग्रीसहितको थाली मन्दिरका पुजारी दलबहादुर रावलले बाहिर फालिदिएर टीका लगाउन अस्वीकार गरेको पीडित युवती संगीता विकले बताइन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवीन्द्र बोहराले पीडित पक्षले निवेदन दिएको र दर्ता गरी आरोपितलाई गिरफ्तारका लागि टोली पठाउँदा पुजारी बिहानै लेकतिर गएको सूचना आएको बताए। निवेदनका आधारमा पुजारीलाई बोलाइसकिएको र घटना वास्तविक भए कानुनी प्रक्रिया अघि बढाउने उनले बताए।
प्रतिक्रिया दिनुहोस