
१९ वैशाख, काठमाडौं । शक्तिशाली व्यक्तिको धम्की आएपछि सेरम इन्स्टिच्युटका सिइओ अदार पुनावाला परिवारसहित बेलायत भागेका छन् । भारतका शक्तिशाली व्यक्तिहरुको धम्कीका कारण आफू भारत छाडेर बेलायत पुगेको उनले बताएका छन् ।
लण्डन पुगेका पुनावालाले त्यहाँको एक अखबारलाई अन्तर्वार्ता दिँदै आफूलाई सुरक्षा खतरा भएकाले लण्डन आएको अभिव्यक्ति दिएका छन् । उनले लण्डनको अखबारलाई दिएको अन्तर्वार्तालाई उद्धृत गर्दै नवभारत टाइम्सले लेखे अनुसार कोभिड भ्याक्सिन छिटोछिटो सप्लाई गर्न भन्दै भारतका शक्तिशाली व्यक्तिहरुले उनलाई फोनमार्फत उग्रभाषामा धम्क्याएका थिए ।
सेरम इन्स्टिच्युटले भारतमा अक्सफोर्ड–एस्ट्राजेनिका खोप उत्पादन गर्दै आएको छ । पुनावालामाथि सम्भावित सुरक्षा खतरालाई ध्यान दिँदै भारत सरकारले केन्द्रीय प्रहरी बलको एक टोलीलाई नै उनको सुरक्षामा खटाएको थियो । तर पनि उनी आफू असुरक्षित भएको भन्दै उनी पत्नी र छोरासहित लण्डन पुगेका हुन् ।
‘म लण्डनमा अहिले तय भएको भन्दा बढी समय रहन्छु’, उनले त्यहाँको अखबारलाई भनेका छन्, ‘यो स्थितिमा म फर्कन सक्दिनँ । सबै मेरो काँधमा आइपर्यो तर म एक्लै त्यो गर्न सक्ने अवस्थामा छैन ।’ भ्याक्सिनका लागि भारतीय शक्तिशाली व्यक्तिदेखि नागरिकसम्म उग्र रुपमा प्रस्तुत भएको बताउँदै उनले त्यसको दबाब झेल्नसक्ने बताएका छन् ।