राजनीति

गुल्मीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप

cdo gulmi

५ असोज, गुल्मी । गुल्मीमा नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच साेमबार झडप भएको छ । रेसुंगा नगरपालिका– १२ को रानीपोखरी निमाविको विषयलाई लिएर झडप भएको हो । केही दिनअघि रानीपोखरी निमाविको भवन निर्माणका विषयमा नेकपा र कांग्रेस कार्यकर्ताबीच विवाद चुलिएको थियोे ।

विवादकै क्रममा नेकपाका कार्यकर्ताले आफ्ना मान्छेहरू कुटपिट गरेर घाइते बनाएको कांग्रेसको दाबी छ । नेकपाले आफ्ना कार्यकर्तामाथि कुटपिट भएको बताउँदै आएको छ ।

कांग्रेसले आफ्ना कार्यकर्ता कुटपिट गर्नेलाई प्रहरीले पक्राउ नगरेको भन्दै कांग्रेसले सोमबार जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रर्दशन गरेको थियो । प्रदर्शनकै क्रममा प्रशासन कार्यालयभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले उनीहरुलाई रोक्‍न खोज्दा झडप भएको हो ।

प्रहरी संयमित रहेपनि प्रदर्शनकारीले प्रहरीकै सुरक्षा सामग्री खोस्ने प्रयास गर्ने र हुलहुज्जत गर्न थालेपछि रोक्ने प्रयास गर्दा सामान्य झडप भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले बताए ।

झडपमा कांग्रेस जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ र नेता पूर्णबहादुर केसी घाइते भएको कांग्रेस जिल्ला सचिव खिलध्वज पन्थीले बताए । प्रहरीतर्फ प्रहरी निरीक्षक राजकुमार रावलसहित चार प्रहरी जवान घाइते भएको डीएसपी पन्तले बताए । सामान्य घाइते सबैको जिल्ला अस्पताल गुल्मीमै उपचार भइरहेको छ ।

नेपाली कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठले प्रहरी र प्रशासनले सत्ताको आडमा घटनामा संलग्नहरूलाई उन्मुक्ति दिइरहेको आरोप लगाए । उनले सोमबार साँझसम्म कांग्रेस कार्यकर्ता कुटपिट गर्नेलाई पक्राउ नगरे चरणबद्ध आन्दोलन गरिने बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस