राजनीति

ओली–हसिना संवाद : बंगलादेशले ५० हजार टन युरिया मल पैँचो दिने

kp hasina

१७ भदौ, काठमाडौं । नेपाल र बंगलादेशबीच कोरोना भाइरस (कोभिड–१९) को अहिलेको संकटको समयमा पनि सहकार्य बलियो बनाएर अगाडि बढ्ने सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उनका बंगलादेशी समकक्षी शेख हसिना वाजेदबीच मंगलबार २ देशका अत्यावश्यक विषयमा थप सहकार्य गर्ने सहमति भएको हो ।

प्रधानमन्त्री ओली र वाजेदबीच भएको टेलिफोन वार्तामा २ देश बीचको सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले हामीले २ देशबीच व्यापार, ऊर्जा, पारवहन लगायत अन्य आवश्यकीय क्षेत्रलाई प्राथमिकता दिँदै सहकार्य वृद्धि गर्ने विषयमा जोड दियौं भन्दै टेलिफोन वार्तामा भएका कुराकानीबारे उल्लेख गरेका छन् ।

विद्युत् उत्पादनमा सहयोग, ग्रिड कनेक्टिभिटी र नेपालबाट बंगलादेशलाई बिजुली आपूर्ति गर्नका साथै २ देशबीच अवरोधरहित सन्तुलित व्यापारको प्रवद्र्धन, बंगलादेशको पारवहन सुविधामा सुधार, पर्यटन प्रवद्र्धन र अन्य विषयमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले रोहनपुर हुँदै बंगलादेश पुग्ने रेल्वे मार्ग विस्तार गर्न अनुमति दिएकोमा धन्यवाद व्यक्त गरे ।

वार्ता फलदायी रहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले नेपालको कृषि बालीका लागि अत्यावश्यक वस्तुका रूपमा रहेको युरिया मल पठाउन नेपालले गरेको आग्रहलाई सकारात्मक रूपमा लिएका बताए । यस विषयमा बंगलादेशले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको छ ।

नेपालमा भइरहेको कोरोना नियन्त्रणको प्रयास प्रभावकारी रहेको भन्दै बंगलादेशका प्रधानमन्त्री हसिनाले प्रशंसा गरिन् । उनले बंगलादेशको कृषि क्षेत्रको सफलताको कथाबाट फाइदा लिनसक्ने औंल्याइन् । वार्ताका क्रममा पछि फिर्ता गर्ने शर्तका आधारमा ५० हजार टन युरिया मल पठाउन सहमति भएको छ । मल ढिला आउँदा नेपालको धान बालीलाई प्रतिकूल असर परिरहेको बेला नेपालका लागि यो ठूलो सहयोग हुनेछ ।

भारत लगायत सार्क मुलुकबाट आउने गरेको युरियासहित मलको आयात यसपटक कोरोना संकटका कारण प्रभावित बनिरहेको छ । यसका कारण प्रधानमन्त्री ओलीले फोन गरेरै मित्रराष्ट्र बंगलादेशलाई तत्काल मल पठाइदिन आग्रह गरेका हुन् । यस सिजनमा हुर्कंदै गरेको धान बालीका लागि मल अत्यावश्यक पोषण हो । प्रधानमन्त्री ओलीले बंगबन्धु शेख मुजिबुर रहमानको जन्म शताब्दीको अवसरमा बंगलादेशी समकक्षी, त्यहाँको सरकार र बंगलादेशका जनतालाई बधाई समेत दिए ।

कोभिड–१९ महामारीविरुद्ध आफ्ना सरकारले गरेको प्रयासका अनुभव साटासाट गर्दै यो खतरा रोक्न सहयोग गर्ने विषयमा पनि २ देशबीच सहमति भएको छ । सो क्रममा बंगलादेशले अपनाएको कदमको सराहना गर्दै कठिन घडीमा नेपाललाई औषधिसहित मेडिकल सामग्री सहयोग गरेकोमा प्रधानमन्त्री ओलीले कृतज्ञता व्यक्त गरे ।

नेपालमा सम्पन्न चौथो बिम्स्टेक शिखर सम्मेलनको स्मरण दुवै प्रधानमन्त्रीले गरे । बंगलादेशका राष्ट्रपतिको भ्रमणपछि सम्बन्ध अझ प्रगाढ बनाउन, प्रवद्र्धन गर्न र सुखद बनाउन उच्च स्तरीय भ्रमणलाई महत्त्व दिएको धारणा दुवै प्रधानमन्त्रीले व्यक्त गरे ।

नेपाल र बंगलादेशबीच सन् १९७२ देखि औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको हो । आपसी सहमति सहकार्य, अपनत्व र भाइचाराका रूपमा २ देश बीचको सम्बन्ध अगाडि बढ्दै आएको छ ।

नेपाल र बंगलादेशबीच वाणिज्य र आर्थिक सम्बन्ध पछिल्लो समय फस्टाउँदै गएको परराष्ट्र मन्त्रालयले जनाएको छ । २ देशबीच व्यापार विस्तार र विविधीकरण गर्ने विशाल सम्भावना रहेकाले त्यस विषयमा २ देशका सरकारबीच यस विषयमा सहकार्य गर्न पहल समेत भइरहेको छ ।

नेपालबाट बंगलादेशमा पहेंलो दाल, तेल, अलैंची, गहुँ, तरकारीको बीउ, हस्तकलाका सामग्री, पस्मिना उत्पादन लगायतका वस्तु निर्यात हुन्छन् । बंगलादेशबाट औद्योगिक कच्चापदार्थ, रसायन, कपडा, जुट, विद्युतीय सामग्री नेपाल आउनेगर्छ । सन् १९९७ मा काँकरभिट्टा–फूलबारी–बङ्गलाबन्ध ट्रान्जिट मार्ग खोलिएपछि बंगलादेशले नेपाललाई मंगला बन्दरगाहको सुविधा उपभोग गर्न अनुमति दिएको थियो ।

रोहनपुर–सिन्घवाद हुँदै नेपाललाई रेल्वे करिडोरको समेत सुविधा उपलब्ध गराएको छ । २ देशबीच अर्थ मन्त्री स्तरमा सन् १९७८ मा संयुक्त आर्थिक आयोग गठन भएको थियो । बैंक, वित्तीय, बीमा जस्ता संयुक्त लगानीका क्षेत्र आपसी सहयोगका क्षेत्र हुन् । रेडिमेट गार्मेन्ट, छालाका सामान, फर्मास्युटिकल्स र पीभीसी पाइपको क्षेत्रमा नयाँ पहल भइरहेको छ ।

नेपाल–बंगलादेश बीचको तेस्रो वाणिज्य सचिव स्तरको बैठक सन् २०१६ मा ढाकामा भएको थियो । सचिव स्तरको प्राविधिक समितिको बैठक पनि २०१७ मा भएको थियो । गत वर्ष बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले नेपालको पाँचदिने पर्यटकीय अवलोकन भ्रमण गरेका थिए । सो क्रममा विविध क्षेत्रमा २ देशबीच सहकार्य गरेर जाने प्रतिबद्धता उनले जनाएका थिए । गोरखापत्र दैनिकमा खबर छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस